रौतहट, २० गते चैत । गायक तथा संगीतकार रामबाबु राउत (पटेल) जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।

थाइल्यान्डको बैंककमा आयोजित जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कार (Genius International Excellence Honor Award–2025) समारोहमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं ३ बिश्रामपुर टोल निवासी विगत लामो समयदेखि गायक तथा संगीत क्षेत्रमा कार्य गर्दै आएका राउत सम्मानित भएका हुन् । मार्च २५, २०२५ मा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।

नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका राउतलाई यो सम्मान प्रदान गरिनु नेपालका लागि गर्वको विषय हो । संगीत साधनामा लामो समयदेखि सक्रिय रहेका राउतले थुप्रै गीतहरूमा आफ्नो स्वर तथा संगीत प्रदान गरिसकेका छन्। उनी लोकगीतदेखि आधुनिक संगीतसम्ममा विशेष पहिचान बनाउँदै आएका छन् ।
