शिक्षकहरुलाई संघीय सरकार मातहत ल्याउँ, सम्भव भएसम्म उनीहरुको सबै माग पूरा गरौंः कांग्रेस नेता तिमल्सिना

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले सम्भव भएसम्म शिक्षकहरुको सबै माग सम्बोधन गरेर उनीहरुलाई कार्यक्षेत्रमा फर्काइनुपर्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले शिक्षकहरुको माग सम्बोधन गर्न सबै सांसदहरु तयार देखिएको बताए । उनीहरुको माग सम्बोधन गर्न सबै सांसदहरुले बोलिसकेको बताउँदै उनले तत्काल संविधान संशोधन गरेर शिक्षकहरुलाई संघीय सरकार मातहतमा राखिनुपर्ने उनले बताए । शिक्षकहरुलाई संघीय सरकार मातहत राख्न तयार नहुने हो भने गोहीका आँशु नझार्न नेता तिमल्सिनाले चेतावनी दिए ।

‘धेरै मान्यज्यूहरुले संसदमा शिक्षकको कुराहरु बोलिसक्नुभएको छ, यो विषयमा मेरो धेरै भन्नु केही छैन । शिक्षकका मागहरु सम्भव भएसम्म सबै पुरा गरेर उहाँहरुलाई स्कुल पठाउने वातावरण बनाउन सरकारसँग जोडदार माग गर्दछु। उहाँहरुले जहिले पनि भन्दै आउनुभएको छ। शिक्षालाई स्थानीय तहमा राख्नु हुँदैन भनेर। यसमा संविधान संशोधनको कुरा आउँछ। अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार। तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्‍यो। नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौं,’– उनले भने ।

गत चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतमा भएका आन्दोलनका क्रममा सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ । उनीहरुको मुख्य मागहरुमा अस्थायी, राहत शिक्षक र विद्यालय कर्मचारीलाई आन्तरिक प्रतिष्पर्धाबाटै स्थायी गरिनुपर्ने, शिक्षकहरुको मर्यादाक्रम निर्धारण हुनुपर्ने, उनीहरुलाई संघीय सरकारको मातहतमा राखिनुपर्नेलगायत रहेका छन् ।

ताजा समाचार

Related Articles